पोखरा । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ, फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
स्पेनको तटीय पर्यटकीय शहर पालमा मालोरकामा सम्पन्न महासंघको एक सय २०औँ स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।
सन् २०२४ का सम्पूर्ण अन्तर्राष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारणसभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ ।
जहाँ वुमन ईन मोटरिङ ईन नेपालका लागि एफआईएम वुमन अवार्डसहित मोबिलिटी र पब्लिक पोलिसी, फ्यूचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ ।
विश्वको एकमात्र मोटरसाइकल फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागिता थियो ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईलाई एफआईएम वुमन ईन मोटोसाईक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् ।
नेपाली खेलकुदको केन्द्रीय संघमा पहिलो एक तिहाई महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाईकलमार्फत महिला सशक्तीकरणको अभियान चलाएको, रेसिङ्ग, र्याली र रोड सेफ्टीमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गरेको, संघका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जनाएका छन् ।
अधिकांश खेलकुद महासंघका एजेण्डामा पश्चिमा देशको नेतृत्व रहिरहेको समयमा टू ह्वील टुरिङ, वुमन ईन मोटरिङ र रोड सेफ्टी जस्ता विषयमा नेपाली खेल संघ नासा नेपालको भूमिका प्रशंसनीय मानिएको छ ।
विगत १६ वर्षअघि स्थापित नासा नेपाल अन्तर्राष्ट्रिय अटोमोबाईल फेडेरेसन (एफआईएम), युनियन ईन्टरनेसनल मोटोरबोटिङ (यूआईएम) र ईन्टरनेसनल मोटरसाईकल फेडेरेसन (एफआईएम) जस्ता महासंघमा आवद्ध छ ।
अवार्ड ग्रहण गर्दै कार्यकारी निर्देशक भट्टराईले यस अवार्ड सम्पूर्ण नेपाली खेलकुद, अटोमोबाईल, राईडर, ड्राईभर, अफिसियल, मार्सलको र खासमा महिलाका लागि ऐतिहासिक क्षण रहेको बताए ।