स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरी -मन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
483
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन्। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गरे ।
उनले स्वास्थ्य क्षेत्रमा लगानी पनि आवश्यकताअनुसार हुन नसकेको र भएको लगानीलाई पनि व्यवस्थित गर्न नसकेको बताए । उनले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको भन्दै स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उल्लेख गरे । स्वास्थ्य क्षेत्रका संरचना र जनक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘स्वास्थ्यमा भएको लगानी व्यवस्थित नभएकाले जुन परिणाम दिनुपर्ने हो त्यो परिणाम प्राप्त हुन सकेको छैन । लगानी पनि आवश्यकताअनुसार (पूर्ण हुने कुरा त धेरै परको कुरा भयो) न्युनतम आवश्यक पूरा गर्ने ढंगको पनि भइरहेको छैन । नागरिकको स्वास्थ्य सरकारको दायित्व हो । यो सबैले स्वीकार गरेको कुरा हो । एकदमै पुँजीवादी देशले पनि स्वास्थ्यको दायित्वबाट विमुख हुन सकेका छैनन् । स्वास्थ्य कुनै न कुनै ढंगबाट राज्यले दायित्व लिनुपर्ने कुरा हो । राज्यको दायित्वको विषयमा राज्यले कति लगानी गरेको छ । कति प्राथमिकतामा राखेको छ, यसको व्यवस्थापन कति चुस्त, दुरुस्त हुन सकेको छ, यो आजको एकदमै महत्वपूर्ण विषय हो । हाम्रोमा संरचनागत पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, उपकरण उपलब्धताको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, जनशक्तिको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेका छैनौँ । अस्पताल बनाएर मात्रै हुँदैन, अस्पतालभित्र उपकरण र जनशक्ति पनि हुनुपर्छ ।’
मन्त्री पौडेलले आर्थिक पक्षबाट पनि स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउनुपर्ने बताए ।