मुटुका रोगी मनमोहनको पटक पटक गरिएको थियो बाइपास सर्जरी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
1.5k
Shares
नयाँदिल्ली । अल इन्डिया मेडिकल साइन्सेस (एम्स) मा उपचाररत रहेका बेलामा भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति ९२ वर्षको उमेरमा निधन भएको छ । उनको आज राजकीय सम्मानका साथ अन्तिम संस्कार हुँदैछ । उनको निधनमा भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । आज कुनै पनि औपचारिक कार्यक्रमसमेत हुने छैनन् ।
मनमोहन सिंह धेरै रोगबाट पीडित थिए। उनको सन् २००९ मा बाइपास सर्जरी भएको थियो । पूर्व प्रधानमन्त्री सिंहको मुटुमा धेरै ब्लकेज भेटिएको थियो । सिंह मुटु सम्बन्धी रोगबाट पीडित थिए । उनले पहिलो पटक सन् १९९० मा बाइपास सर्जरी र सन् २००३ मा स्टेन्ट प्रत्यारोपणका लागि एन्जियोप्लास्टी पनि गरेका थिए । र, सिंहको पटकपटक बाइपास सर्जरी भएको थियो ।
बाइपास सर्जरी मुटुको कोरोनरी धमनीहरूमा रक्तसञ्चार सुधार गर्ने प्रक्रिया हो। यसलाई कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ वा हृदय बाइपास सर्जरी पनि भनिन्छ। यस शल्यक्रियामा बिरामीको शरीरको अर्को भागबाट स्वस्थ रक्तनलीको टुक्रा निकालेर अवरुद्ध धमनीको माथि र तल जोडिन्छ। यसले रगत र अक्सिजनलाई मुटुसम्म पुग्न अनुमति दिन्छ।
मुटुमा अवरोधका कारण रक्तसञ्चार राम्रोसँग हुन नसक्दा बाइपास सर्जरी गर्नुपर्ने हुन्छ । जसबाट धेरै फाइदा लिन सकिन्छ तर केही मानिसहरु बाइपास सर्जरी पछि सामान्य जीवन जिउन नसकिने विश्वास गर्छन्। आजकल मुटुको बाइपास सर्जरी हरेक उमेर समुहमा हुने गरेको चिकित्सक बताउँछन् । गलत खानपान, मोटोपना र उच्च रक्तचापका कारण पनि युवा युवतीहरू मुटुरोगको उच्च जोखिममा छन् । त्यसैले वृद्ध वृद्धाले मात्र मुटुको बाइपास सर्जरी गर्नुपर्छ भन्नु पूर्ण रूपमा गलत हो ।
मुटुको बाइपास सर्जरीले हृदयाघात जस्ता मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सक्ने तर पूर्ण रूपमा हटाउन नसकिने चिकित्सकहरू बताउँछन् । त्यसैले शल्यक्रिया पछि पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । नत्र जुनसुकै बेला मुटुको रोग बढ्न सक्छ ।