शेख हसिनालाई फेब्रुअरी १२ भित्र अदालतमा पेश गर्न निर्देशन, सक्ला त बंगलादेशले भारतबाट लैजान ?
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
1.6k
Shares
तस्बिर – फाइल ।
ढाका । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वाशित पूर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
ढाका ट्रिब्युनका अनुसार विगत १५ वर्षमा बगलादेशमा भएका जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याको आरोपमा उक्त पक्राउ पुर्जी जारी गरिएको हो।
मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको निवेदनमा न्यायाधीश मोहम्मद गुलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको न्यायाधिकरणले यस्तो आदेश दिएको हो । आईसीटीले पक्राउ परेकाहरुलाई फ्रेबुअरी १२ भित्र पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
साथै न्यायाधिकरणले अन्य मुद्दामा हाल थुनामा रहेका मेजर जनरल (बरखास्त) जियाउल अहसानलाई पनि पक्राउ गरी सोही मितिमा हाजिर गर्न आदेश दिएको छ।
जबर्जस्ती बेपत्ता पारिएका पीडित र उनीहरूका परिवारहरू न्यायाधीकरणमा उपस्थित थिए।
हसिना भारतमा
शेख हसिना बंगलादेशबाट भारत आएकी छिन् । उनी फर्केर बंगलादेश जाने सम्भावना छैन । भारतले पनि सजिलै बंगलादेशलाई उनलाई बुझाउने स्थिति पनि बनेको छैन ।
यो अवस्थामा बंगलादेशले अहिलेसम्म कूटनीतिक पहल पनि थालेको छैन ।
हसिना भारतबाट अन्य देशमा जान खोजेको भए पनि नसकेपछि भारतमै बसेकी हुन् । उनी अमेरिका जान खोजे पनि अमेरिकाले भिसा नदिएपछि उनी भारतमै लुक्न बाध्य भएकी हुन् ।
उनको कार्यकालका अधिकांशले दुःख पाउने देखिएको छ । अहिलेको सत्ताले क्रिकेटर शकिब अल हसनलाईसमेत छाडेको छैन । उनले घरेलु मैदानमा क्रिकेटसमेत खेल्न पाएनन् ।