arrow

एनआईसी एसिया बैङ्कको सहयोगमा चितवनको विद्यालयमा पुस्तकालय उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
nic-asia-chitwan-library-2081.jpg

काठमाडौँ। एनआईसी एसिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण गरी उद्घाटन सम्पन्न गरेको छ। पुस्तकालयको उद्घाटन २०८१ पौष १९ गते एक समारोहका बीच सम्पन्न भएको हो।

विद्यार्थीलाई शैक्षिक सामग्रीमा पहुँच पुर्‍याउन र उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैङ्कले स्थानीय तह र विद्यालयको सहकार्यमा पुस्तकालय निर्माण गरी हस्तान्तरण गरेको हो। यस पुस्तकालयबाट विद्यालयका झन्डै १,०५० विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

उद्घाटन समारोहमा राप्ती नगरपालिका वडा नं.७ की अध्यक्ष सुमिता डल्लाकोटी, एनआईसी एसिया बैङ्कका बागमती प्रदेश प्रमुख दिलीप डाँगी, उपप्रमुख रामकृष्ण काफ्ले तथा विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

एनआईसी एसिया बैङ्कले यसअघि विभिन्न प्रदेशका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ।  लुम्बिनी प्रदेशको रुपन्देही, मधेस प्रदेशको सिराहा, गण्डकी प्रदेशको तनहुँ, सुदूरपश्चिम प्रदेशको कैलाली, कोसी प्रदेशको झापा र पर्सा जिल्लाका विद्यालयहरू समावेश छन्।

पुस्तकालय निर्माणका लागि बैङ्कले कुल रु. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको छ। पुस्तकालय सञ्चालनपछि ११ हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष लाभ पाउने बैङ्कले जनाएको छ। यसले विद्यार्थीहरूको शैक्षिक गुणस्तर र व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बैङ्कको विश्वास छ।

एनआईसी एसिया बैङ्कले आगामी दिनमा पनि शिक्षा र समाजसेवामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ