लिबाङ (रोल्पा) । जिल्ला कृषि विकास कार्यालय रोल्पाद्वारा संचालित भकार सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको पाईएको छ । यसको प्रभावकारिता देखेर नै धेरै कृषकहरुले यसप्रति चासो देखाउने थालेपछि यसको प्रभावकारिता पुष्टि भएको हो ।
यस कार्यक्रम मार्फत गाईभैसीको गोबर र मूत्रलाई उचित ब्यवस्थापन गरिन्छ ।
गाईभैसीको गोबरमा भन्दा पिसाबमा बढी मात्रामा बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व पाइने हुँदा पिसाब संकलन गरी त्यसको उचित ब्यवस्थापन तथा प्रयोग गर्ने उद्धेश्यले कार्यालयले यस्तो कार्यक्रम संचालनमा ल्याएकोे कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार जिल्लाका करिव १२ गाविसमा संचालित यो कार्यक्रम पछिल्ला दिनमा निकै प्रभावकारी बन्दै गएको छ । वार्षिक बजेट ४ लाख ६८ हजार बिनियोजन भएको भकार सुधार कार्यक्रम संचालनका लागि यस आ.व.मा मात्र १२ गाविसका ९० घरधुरीका कृषकहरुसंग सम्झौता भइरहेको छ ।
परम्परागत तरिकाले गाई भैसीको मलमूत्र संकलन गर्दा घामपानीको नकारात्मक असरबाट मलखाद गुणस्तरयुक्त बन्न नसकेपछि विगत ३ वर्षदेखि जिल्लामा भकार सुधार कार्यक्रम संचालनमा रहेको हो ।यसरी मलमूत्र ब्यवस्थित तरिकाले संकलन गरेर तरकारी बालीमा प्रयोग गर्दा यसले मलखादको काम गर्नुका साथै तरकारी बालीमा हानी पु¥याउने किटपतंगहरुलाई पनि उचित ब्यवस्थापन गर्ने पौडेलको भनाई छ ।
माटोको उर्बरा शक्तिमा सुधारगरी कृषि उत्पादकत्वमा बृद्धि ल्याउने नेपाल सरकारको उद्धेश्य अनुरुप यो कार्यक्रम रोल्पा लगायत देशका विभिन्न जिल्लामा संचालन हुँदै आएको छ । यस किसिमका कार्यक्रमहरु जिल्लाका सम्पूर्ण गाविसमा संचालन हुनसके ब्यवसायिक रुपमा कृषि पेशा अंगालेका कृषकहरुलाई थप सहयोग पुग्ने कृषकहरुले बताएका छन् ।