‘सञ्चारमाध्यममा अपाङ्गता भएकाहरुलाई आघात पुग्ने समाचार नछापियोस्’
महासंघले सरकारसँग राख्यो ५ बुँदे माग
प्रकाशित २०७३ पुष १५ शुक्रबार
727
Shares
काठमाडौं । वौद्धिक अपाङ्गताका अभिभावक महासंघले सञ्चारमाध्यमहरुबाट बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई आघात पुग्ने समाचार प्रस्तुत नगर्न आग्रह गरेको छ । शुक्रबार राजधानीमा पत्रकारसम्मेलन गरी महासंघले सरकार समक्ष पनि विभिन्न विषयमा पाँच बुँदे माग अघि सारेको छ ।
महासंघले सम्मेलन गरेर बौद्धिक अपाङ्गता भएका मानिसलाई समाजमा बाँच्न कठिन भएको भन्दै बाँच्न पाउँने सरल वातारण निमार्ण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नुपर्ने लगायतका मागहरु अघि सारेको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष मुकुन्दहरी दाहालले समाज जसले नकारात्मक काम गर्छ त्यसको समाचार बनाएर लेख्ने पत्रकारिता क्षेत्रले देश र समाजलाई सकारात्मक बाटोमा नडो¥याउने दाबी गर्दै बौद्धिक अपाङ्गता भएका मानिसका मानवीय अधिकारका बारेमा लेख्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
उनले भने,‘पत्रकारको काम भनेको नराम्रा कुराहरूको बारेमा लेख्ने मात्र होईन, राम्रा र समाजका कुराहरू खोजी खोजी लेख्नु पनि हो । यो समस्याबाट पीडित १४,८८८ जना मानिसहरूको बारेमा लेख्दा के हुन्छ ?’
उनले अघि भने, ‘हामी अभिभावकलाई बौद्धिक अपांगताबाट पीडित भएका बालबालिकाको भविष्यबारे सोच्न पनि कठिन छ, यस्तो अवस्थामा अस्पतालमा उपचार गर्न जाँदापनि ‘मानसिक अस्पताल जा’ भन्छन, तर यो आफैमा मानसिक रोग होईन, विद्यालयमा समेत भर्ना गर्न मान्दैनन्, त्यसैले हामीले उठाएका मागहरुलाई सम्बोधन गर्नुपर्छ ।’