arrow

दुर्गमका दर्जनौ गाविस चार महिनादेखि सञ्चारविहीन

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
business-telephone-systems.jpeg
रुकुम। पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउँबाट समस्या भएपछि उनलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ ।
 
उनिमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलको सेवा लिन अहिले रन्ममैकोट, हुकाम, कोल, काँक्री, महत, मोरावाङ लगायत गाविसका बासिन्दालाई रुकुमकोट आउनुपर्ने बाध्यता भएको छ ।टेलिफोन सेवा नभएका कारण स्थानीयवासीलाई सानो काममा पनि हैरानी खेप्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । 
 
मोराबाङ लेकमा रहेको स्काई (जिएसएम) फोनको टावर बिग्रिएको लामो समयदेखि निष्क्रिय भएपछि स्थानीयवासी सञ्चारविहीन भएका हुन् । नेपाल टेलिकमको जिएसएम टावरले काम नगर्ने भएकाले स्थानीयवासीलाई सास्ती भएको स्थानीय शिक्षक कर्णबहादुर केसीले बताए ।
 
 पटक पटक नेपाल टेलिकमको टावर राख्न र मोबाइल सेवा सञ्चालन गर्न माग गरिए पनि आफ्नो मागको बेवास्ता भएको स्थानीयवासीको गुनासो छ । “सबैका हातहातमा मोबाइल र घर घरमा फोन हुनुपर्ने बेलामा हामीलाई भने यस्तो सास्ती छ,” कोलका बासिन्दा वीरेन्द्र बुढाले भने “सरकारले साह्रै बेवास्ता गरेको छ ।”
 
नेपाल टेलिकम रुकुम शाखाका प्रमुख कृष्ण शर्माले टावरमा समस्या आएको बारे आफूहरुले माथि खबर गरेको तर प्राविधिक आउन ढिला भएकाले समस्या समाधान हुन नसकेको बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ