काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताएका छन् ।
नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताए । दाहालले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इन्जिनियरको सुरक्षा र आवश्यकतालाई सरकारले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री दाहालले देशको समृद्धि र राजनीतिक गतिरोधका सन्दर्भमा सही सन्देश दिन पनि यस सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको विकासका लागि सबै दलको साझा दृष्टिकोणको खाँचो रहेको औँल्याउँदै प्राविधिक जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्नुपर्ने बताए ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि २४० इन्जिनियर र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा कम्तीमा एक र बढीमा तीन जनासम्म इन्जिनियरलाई रोजगारीको सिर्जना गरिएको बताए ।
नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर डा जीवराज पोखरेललगायतले इन्जिनियरको क्षमता अभिवृद्धि गर्न व्यावसायिक तालिमको जरुरी रहेको विचार व्यक्त गरे । रासस