भ्रष्टाचार सूचकाङ्कमा नेपाल ३४ औँ स्थानमा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
706
Shares
काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अङ्क प्राप्त गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्याङ्कका अनुसार गत वर्ष नेपालको अङ्क ३५ रहेको थियो । नतिजाअनुसार भ्रष्टाचारविरुद्ध प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन जरुरी भएको औँल्याइएको छ ।
दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ७२, भारत ३८, मालदिभ्स ३८, श्रीलङ्का ३२, पाकिस्तान २७, बङ्गलादेश २३, अफगानिस्तानको १७ अङ्क रहेको छ । चीनले ४३ अङ्क प्राप्त गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको करप्शन पर्सेप्शन इण्डेक्स (सीपीआई) २०२४ (भ्रष्टाचार अवधारणा सूचकाङ्क-२०२४) मा १८० देशहरू सम्मिलित छन् ।
यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले बताए । उनका अनुसार यस वर्ष विश्व बैङ्कको सर्वेक्षणमा केही सुधार देखिए पनि वर्ल्ड इकोनोमी फोरम र ग्लोबल इनसाइटको सर्वेक्षणका तथ्याङ्कले निर्यात, कर, ठेक्का व्यवसाय, आयात जस्ता सरकार र व्यावसायिक क्षेत्र सम्बन्धित कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखाएको बताए ।
नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३,३३, ३४, ३५, ३४ अङ्क प्राप्त गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपालले राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिविद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुस खोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यावसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्न सुझाव दिएको छ ।