arrow

‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा शनिबार, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
dhan-raj-acharya-pokhara.jpg

पोखरा । ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा यही शनिबार हुँदैछ । कार्यक्रमका लागि सबै तयारी पूरा भएको छ ।

भ्रमण वर्ष घोषणाअघि पोखराका ३३ वटै वडाबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारसम्म पहिचानसहितका झाँकी र्‍याली प्रदर्शन हुनेछ ।

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सहभागितामा भ्रमण वर्ष घोषणा हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

सन् २०२५ मा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गर्न लागिएको उनले बताए ।

उनले भने, ‘पोखरालाई पर्यटकीय र आर्थिकरुपमा चलायमान गराउन करिब २० लाख स्वदेशी एवं विदेशी पर्यटकलाई भित्र्याउने लक्ष्य छ ।’ मेयर आचार्यले भ्रमण वर्षले कोरोनापछि सुस्ताएको पर्यटन बजारलाई माथि उकास्न मद्दत पुग्ने दावी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा चीनले नेपाल भ्रमण वर्ष घोषणा गरिदिएको भन्दै मेयर आचार्यले त्यसबाट पोखरालाई धेरै राहत पुग्ने विश्वास व्यक्त गरे ।

चीन र भारतबाट विदेश घुम्ने १८ करोड पर्यटकको सानो हिस्सामात्रै पोखरा आए पनि त्यसले यहाँको आर्थिक पक्षलाई बलियो बनाउने उनको दावी छ ।

भ्रमण वर्ष सफल बनाउन मेयर आचार्यको मूल संयोजकत्वमा विभिन्न समिति बनाइएको छ । पोखरालाई गत वर्षमात्रै पर्यटन राजधानी सहर घोषणा गरिएको थियो ।

भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी नगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति, एक निर्देशक समिति, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समिति गठन गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।

भ्रमण वर्ष अवधिभर महानगरबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम हुने बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ