अमेरिकाले नेपाललाई दिँदै आएको पाँच अर्ब ३९ करोड रोक्यो, भारतसहितका देशमा पनि कटौती [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
1.1k
Shares
काठमाडौँ । अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (करिब एक खर्ब तीन अर्ब रुपैयाँ) सहायता रोक्ने निर्णय गरेको छ ।
डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपतिको कुर्सी सम्हालेपछि अमेरिकी सरकारी खर्च घटाउने उद्धेश्यले स्थापना गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी (डीओजीई) ले आइतबार उक्त निर्णय गरेको सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको हो ।
डीओजीईको प्रमुख विश्वकै धनी व्यक्ति एलन मस्क हुन् । एक्स पनि उनकै हो । मस्कले नेपालका दुई ओटा कार्यक्रम मार्फत दिँदै आएको सहायता रोकेका छन् ।
अमेरिकाले नेपाललाई संघीयता र जैविक विविधता संरक्षणका क्षेत्रमा उपलब्ध गराउँदै आएको ३९ मिलियन अमेरिकी डलर (आजको १ अमेरिकी डलर बराबर १३८ रुपैयाँ ३२ पैसाका हिसाबले ५ अर्ब ३९ करोड ४४ लाख ८० हजार रुपैयाँ) रहेको छ ।
डीओजीईले सामाजिक सञ्जाल एक्समार्फत नेपाली समयअनुसार आइतबार बिहान उक्त निर्णय सार्वजनिक गरेको हो ।
डीओजीईले नेपाल, भारत, बंगलादेश, मोजाम्बिक, कम्बोडिया, पराग्वे, सर्बिया, माल्डोभा, लाइबेरिया, माली लगायतका देशलाई उपलब्ध गराउँदै आएको सहायता रद्द गरेको घोषणा गरेको हो ।
नेपाललाई अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत सन् २०२२ देखि वार्षिक औसतमा साढे १२ करोड अमेरिकी डलर उपलब्ध गराउँदै आएको छ ।
यसअघि ट्रम्पले यूएसएआईडीले अनावश्यक रूपमा सहायता उपलब्ध गराउँदै आएको आरोप लगाउँदै सहायता तीन महिनाको लागि रोक्ने आदेश जारी गरेका थिए ।
त्यसपछि जीओजीईले यूएसएआईडीले उपलब्ध गराएको सहायताको अनुसन्धान गर्दै आएको छ । मस्कले नेपाललाई दिँदै आएका दुई ओटा ठूला सहायतामा कटौती गरेका हुन् ।