arrow

पशुपतिमा महाशिवरात्रिमा समन्वयात्मक सुरक्षा व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
shaivatatri-pashupati.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा सबै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गरिने भएको छ । 

सुरक्षा व्यवस्था मिलाउन सुरक्षासँग सम्बन्धित निकायका अधिकारीको बैठकले यस्तो निर्णय गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा आज बसेको सुरक्षा समितिको सो बैठकले दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि भकुण्डोलस्थित भण्डारी गुठीघरको पार्कमा प्रहरी मूल शिविर स्थापना गर्ने निर्णय गरेको छ । त्यहाँ सञ्चार सेटसहितको नियन्त्रण कक्ष पनि स्थापना गरिने छ ।

आवास, भोजनस्थल, जुत्ताचप्पल कक्षलगायत आवश्यक स्थान गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राममन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, चार शिवालय, घाट क्षेत्र आदि स्थानमा नेपाल प्रहरीको सबकमाण्ड पोष्ट स्थापना गरिने भएको छ ।

दर्शनार्थी एवं तीर्थयात्रीका लागि प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाउन यसो गरिएको उनले सुनाए ।

उनका अनुसार सशस्त्र प्रहरी बलको मूल शिविर भुवनेश्वरी (नासल चोक) मा खडा गरिनेछ ।

गोरखनाथ, कैलाश, वनकालीलगायत अन्य आवश्यक क्षेत्रमा सबकमाण्ड पोष्ट खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाइने भएको छ । 

महाशिवरात्रि पर्वको दुई दिनअघि अर्थात् फागुन १२ गते बिहान ६ बजेदेखि फागुन १५ गते दिउँसो ३ बजेसम्मका लागि प्रभावकारी संयुक्त सुरक्षा योजना बनाई विशेष सुरक्षा व्यवस्था मिलाउने तयारी कोषले गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ