काठमाडौँ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।
कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । आज साँझ करिब ७ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ ।
पहिलो प्रहर पूजा करिब पौने ९ बजे सकिन्छ । ९ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ । यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ । पौने ३ बजे हाराहारीमा यो सकिन्छ । चौथो प्रहर पूजा करिब ३ बजेको हाराहारीमा सुरु भई बिहान ६ बजेको हाराहारीमा सकिन्छ । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।
महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ ।
यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए । सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।
यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।