वर्षाले रद्द भयो पाकिस्तान र बंगलादेशको खेल, शुक्रबार अफगानिस्तान र अष्ट्रेलिया खेल्ने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
523
Shares
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्द भएको छ । पाकिस्तानको रावलपिन्डीमा हुनुपर्ने यो खेल वर्षाले खेल हुने अवस्था नभएपछि टस नै नभएर रद्द गरिएको हो । खेल रद्द भएपछि दुवै देशले एक एक अंक बाँडेका छन् ।
समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने परेको छैन ।
बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजिल्याण्डसँग पराजित भएका थिए । समुह ए बाट भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । समूह विजेताको टुंगो आपसमा भिडेसँगै लाग्नेछ ।
शुक्रबारको खेल
शुक्रबार समूह बी को खेल अन्तर्गत अफगानिस्तान र अष्ट्रेलियाबीच हुनेछ । अष्ट्रेलियाले इङ्गल्याण्डलाई पराजित गर्दा दक्षिण अफ्रिकासँगको खेल वर्षाले रद्द भएसँगै अंक बाँडेको थियो ।
अफगानिस्तान भने दक्षिण अफ्रिकासँग पराजित हुँदा इङ्गल्याण्डलाई ८ रनले हराएको थियो ।
सेमिफाइनलमा पुग्न दुवै टिमलाई जित्नैपर्ने दबाब छ । खेल रद्द भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान बाहिरिने छ । अफगानिस्तान बाहिरिएसँगै दक्षिण अफ्रिका इङ्गल्याण्डसँग खेल्न नपर्दै सेमिफाइनलमा पुग्नेछ । किनकि दक्षिण अफ्रिकाको रन रेट निकै बढी छ ।