लिबाङ (रोल्पा) । बैदेशिक रोजगारीका शिलशिलामा विदेशमा मृत्यु भएका मृतकका आफन्तहरु सम्पर्कमा नआउदा राहत वितरणमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।
आर्थिक वर्ष २०७१/०७२ देखि हाल सम्म बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ जना मृतकको नाममा कार्यालयमा राहत प्राप्त भएकोमा २९ जना मृतकका आफन्तले मात्र राहत लिएका छन् भने बाँकी ९ जना मृतकका आफन्तहरु सम्पर्कमा नआएको हुँदा राहत वितरणमा समस्या भएको लेखापाल सरस्वती गिरीले जानकारी दिइन् ।
गिरीका अनुसार बैदेशिक रोजगारीका क्रममा मृत्युभएका मिरुल १ रोल्पाका चन्द्रबहादुर बुढा, बडाचौर ४ रोल्पाका विष्णु कामी, जिनाबाङ १ रोल्पाका दुर्गबहादुर खड्का, हार्जङ २ रोल्पाका झक्कु बुढामगर, सीर्प ४ रोल्पाका सीसा घर्ती, झेनाम १ रोल्पाका बुद्धिलाल वाइबा, जौलिपोखरी ८ रोल्पाका जयबहादुर, डुब्रिङ ४ रोल्पाका हिमबहादुर वि.क र ह्वामा ६ रोल्पाका हरिशकुमार बुढाका कानूनी हकदार कार्यालयको सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय रोल्पालाई राहत वितरणमा समस्या भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
यसरी परराष्ट्र मन्त्रालय मार्फत प्राप्त राहत स्वरुप आएको बजेट फ्रिज नहुँदै भएपनि यथासीघ्र मृतकका कानूनी हकदार कार्यालयको सम्पर्कमा आए राहत वितरणमा सहजहुने शर्माको भनाइ छ ।जिल्ला प्रशासन कार्यालय रोल्पामा प्राप्त राहतको अभिलेख हेर्दा ७१ हजार देखि २ करोड ३४ लाख ६५ हजार ९ सय ४२ रुपैयाँ सम्म राहत प्राप्त भएको देखिन्छ ।
सो राहत लिन आउँदा मृत्यु दर्ता, राहदानी, सम्वन्धीत गाविसको सिफारिस, नाता प्रमाणित प्रमाणपत्र र नागरिकता सहित मृतकका हकदारहरुले जिल्ला प्रशासन कार्यालय रोल्पामा निवेदन दिएमा कानूनी हकदारले राहत प्राप्त गर्न सक्ने बताइएको छ ।