भारतको टस हार्ने रेकर्ड थप बढ्यो, न्यूजिल्याण्डविरुद्ध ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
854
Shares
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् । भारतले कीर्तिमानी १३ औँ पटक टस हारेको छ ।
तटस्थ स्थल दुबई इन्टरनेशनल स्टेडियममा दिउँसो २ः४५ बजेदेखि खेल शुरु भएको हो । भारतले अहिलेसम्म एक दिवसीयमा लगातार १३ टस हारिसकेको छ । यो कुनै पनि टिमको रकेर्ड छैन । यसअघि नेदरल्याण्ड्सले लगातार ११ खेलमा टस हारेको थियो ।
यो खेलसँगै सेमिफाइनल समीकरण पूरा हुँदैछ । समूह चरणको अन्तिम खेलमा आज भारत र न्यूजिल्याण्ड भिडेसँगै सेमिफाइनल समीकरण पूरा हुने भएको हो ।
समूह बीबाट दक्षिण अफ्रिका समूह विजेता तथा अष्ट्रेलिया समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।
यो समूहबाट अफगानिस्तान तेस्रो हुँदै तथा इङल्याण्ड पुछारमा रहँदै बाहिरियो । समूह एबाट भारत र न्यूजिल्याण्डको समान चार अंक रहेका अवस्थामा जित्ने टोली समूह विजेता तथा हार्ने टोली उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछ ।
यो समूहबाट आयोजक पाकिस्तान र बंगलादेश बाहिरिइसकेका छन् । भारत र न्यूजिल्याण्ड दुवैले पाकिस्तान र बंगलादेशलाई हराएका थिए ।
भारत र न्यूजिल्याण्ड च्याम्पियन्स ट्रफीमा दोस्रो पटक आमने सामने भएका छन् ।
सन् २००० को फाइनलमा न्यूजिल्याण्डले भारतलाई हराएर उपाधि जितेको थियो ।
एक दिवसीयको हेड टु हेडमा अहिलेसम्म ११८ खेल भएकामा भारतले ६० खेल जित्दा न्यूजिल्याण्डले ५० खेल जितेको छ । ७ खेलमा नतिजा आएको थिएन भने एक खेल टाइ भएको थियो ।
यो खेलको विजेताले सेमिफाइनलमा अर्को समूहको उपविजेता अष्ट्रेलियासँग खेल्नेछ भने पराजित हुने टिमले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
कोहलीको तीन सयौँ खेल
भारतीय पूर्व कप्तान विराट कोहलीले आज ३०० औँ एक दिवसीय खेल खेल्दैछन् । उनले पाकिस्तानविरुद्ध २९९ खेल खेल्दै शतक बनाएका थिए ।
उनले एक दिवसीयमा १४ हजार ८५ रन बनाएका छन् । जसमा ५१ शतक सामेल छ । यो विश्वकै कीर्तिमान हो । यसअघि सचिन तेन्दुलकरको नाममा एक दिवसीयमा ४९ शतक रहेको थियो ।
कोहलीले १२३ टेष्टमा ९ हजार २३० रन जोडेका छन् । जसमा ३० शतक सामेल छ भने १२५ टी–२० मा एक शतकसहित ४ हजार १८८ रन बनाएका छन् । टी–२० बाट भने उनले संन्यास लिएका छन् ।