कञ्चनपुर । कञ्चनपुर जिल्लाका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक धमाधम निर्माण थालिएको भए पनि हुलाकी मार्गको काम टेण्डर प्रकृयामामै सीमित रहेको छ । हुलाकी राजमार्ग काम मंसिर पहिलो साता टेण्डर आह्वान गरेको भए पनि उक्त कार्य टेण्डर प्रकृयामा रहेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।
हुलाकी राजमार्ग आयोजनाका अनुसार तीन चरणमा विभाजन गरेर कालोपत्रे गरिने सडक निर्माणका लागि टेण्डर प्रकृया जारी रहेको जनाएको छ ।
जिल्लाकै आधा जनसंख्या रहेको दक्षिणक्षेत्र जोड्ने ६० किलोमिटर लम्बाइ भएको दैजी–बेल्डाँडी, बेलौरी–डोकेबजार हुलाकी सडकको निर्माण प्रकृया अघि बढेको छ ।
हुलाकी राजमार्ग योजना धनगढीका प्रमुख पुरन्थ मण्डलले कञ्चनपुरको डोके बजारदेखि दैजीसम्मको ६२ किलोमिटर सडक पक्की बनाउनका लागि ठेक्का प्रक्रिया भइरहेको बताए ।
‘तीन वटा प्याकेज रहेको उक्त हुलाकी सडक दुई वर्षमा निर्माण सक्ने गरी डेढ अर्बमा ठेक्का प्रक्रियामा छ ।’ ‘अबको दुई महिनाभित्र यसको काम सुरु हुन्छ’ उनले भने ‘कैलालीको धनगढी– भजनी हुलाकी मार्गको पनि निर्माण अघि बढिरहेको छ ।’
सडक डिभिजन कार्यालयका प्रमुख विनोदकुमार मौवारले दैजी–बेल्डाँडी, बेलौरी डोकेबजार कच्ची हुलाकी सडकका कारण लामो समयदेखि सास्ती खेपिरहेका दक्षिण क्षेत्रका नागरिकलाई हुलाकी मार्ग बनेमा आवागमनमा निकै सहज हुने बताएका छन् । ‘
मौवारले भने– ‘अहिले यहाँ पुल निर्माणदेखि सडक कालोपत्र बनाउनसम्मका लागि मन्त्रालयले पर्याप्त बजेट पठाइरहेको छ ।’ जिल्लाका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक धमाधम निर्माण थालिएको उनको भनाई छ ।
लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना प्राथमिकताका साथ अघि बढिरहेका छन् ।
महाकाली नदीमा चार लेनको पक्की पुल निमार्णदेखि हाल कञ्चनपुरमा सडक डिभिजन कार्यालयले मात्रै २२ पुल निर्माण अघि बढाएको छ ।
त्यसैगरी वर्षौंदेखि अलपत्र परेको ६८ किमी लम्बाइ रहेको दैजी–जोगबुढा सडकखण्ड निर्माण पनि अघि बढेको छ ।