काठमाडौँ । बंगलादेशका ब्याट्सम्यान मुशफिकुर रहिमले एक दिवसीय क्रिकेटबाट संन्यास लिएका छन् । मुशफिकुरले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन् ।
बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिएको एक हप्तापछि रहिमले संन्यासको घोषणा गरेका छन् । मुशफिकुरको एकदिवसीय करियर १९ वर्षको रह्यो । उनी बंगलादेशका पूर्व कप्तान पनि हुन् ।
मुशफिकुरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आज एक दिवसीय क्रिकेटबाट संन्यास लिँदैछु । हाम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा उपलब्धिहरू कम छन् । तर जब म देशको लागि खेले, म पूर्ण समर्पण र इमानदारीका साथ खेले । पछिल्ला केही हप्ताहरू मेरा लागि धेरै गाह्रो भएको छ ।’
मुशफिकुर रहिम बंगलादेशका लागि दोस्रो सर्वाधिक एकदिवसीय रन बनाउने खेलाडी हुन् । उनले २७४ एकदिवसीय खेलमा ७७९५ रन बनाएका छन् ।
जसमा ९ शतक र ४९ अर्धशतक समावेश छन् । साथै उनी २५० भन्दा बढी एक दिवसीय खेल खेल्ने केवल ५ विकेटकिपरमध्ये एक हुन् । रहिम सूचीमा चौथो स्थानमा छन् ।
उनले २०२२ को टी–२० विश्वकपपछि ३७ वर्षीय मुशफिकुरले टी–२० बाट संन्यास लिएका थिए । उनले टेस्ट क्रिकेट भने खेल्ने बताएका छन् ।
अहिलेसम्म ९४ टेस्ट खेलेका छन् । यदि रहिमले १०० टेस्ट खेले भने उनी यो आँकडामा पुग्ने पहिलो बंगलादेशी खेलाडी बन्नेछन् ।