काठमाडौँ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर-३, नौतनका ३२ वर्षीय नोस्तहिम मिया आर्थिक अभावका कारण उपचार नपाएर तड्पिरहेका बेलामा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनीलकुमार शर्माले उनको निःशुल्क उपचारको व्यवस्था गरेका छन्।
नोस्तहिम मियाकी श्रीमती शाहबुन खातुनले श्रीमानको उपचार गराउन समाजसँग सहयोगको अपील गरेकी थिइन्। उनका अनुसार श्रीमानलाई पत्थरीको समस्या भएपछि भारतको खैरावास्थित अस्पतालमा शल्यक्रिया गरिएको थियो। तर शल्यक्रियापछि पनि समस्या निको नभएपछि उनीहरू आर्थिक संकटमा परेका थिए।
शल्यक्रियापछि थप समस्या देखिएपछि मियालाई वीरगंजको नारायणी अस्पताल र तराई अस्पतालमा उपचार गराइयो, तर सुधार भएन। त्यसपछि चितवनको भरतपुर लगेर क्यान्सर अस्पतालमा जाँच गराउँदा चिकित्सकले उनको मिर्गौला र लिभरमा समस्या रहेको बताएका थिए।
खातुनका अनुसार, परिवारसँग भएको सबै रकम उपचारमा खर्च भइसकेको छ। थप उपचारका लागि काठमाडौं लैजानुपर्ने भए पनि आर्थिक अभावका कारण उनीहरू घर फर्किन बाध्य भए। हाल घरमा रोजगारी गर्ने कोही नभएकाले औषधि किन्न र दैनिक भोजन जुटाउन समेत समस्या रहेको खातुनले बताइन्।
चार साना छोराछोरी रहेको खातुनले गाउँका छिमेकीहरूले दिएको थोरै-थोरै आटा र चामलले आफ्नो परिवारको जीवनयापन चलिरहेको बताइन्। उनका अनुसार, श्रीमान्ले गाडी चलाएर परिवार पाल्दै आएका थिए, तर बिरामी भएपछि घरको सम्पूर्ण दायित्व आफूमाथि आएको छ।
प्रसौनी गाउँपालिका वडा नम्बर-३ का वडा अध्यक्ष पदका उम्मेदवार रामप्रसाद साहले मियाको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको बताए।
नोस्तहिम मियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाली कांग्रेस बारा क्षेत्र नम्बर-४ का सभापति सुनिलप्रसाद गुप्ताले नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनील शर्मासँग उनको उपचारको लागि सहयोग गर्न आग्रह गरेका थिए।
सांसद शर्माले आग्रह स्वीकार्दै काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उनको निःशुल्क उपचारको व्यवस्था गरेका छन्।
शर्मा प्रतिनिधि सभाका एक मात्र सांसद हुन्, जसले आफ्नो तलब-भत्ता लिँदैनन्। उनले नेपालका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी लाखौँ गरिब तथा असहायलाई सेवा प्रदान गर्दै आएका छन्।
उनको नेतृत्वमा सम्भव नभएका गम्भीर बिरामीहरूको निःशुल्क उपचार काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा भइरहेको छ। साथै उनले आफ्नो निर्वाचन क्षेत्रमा जुनसुकै पार्टीका नागरिक भए पनि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था गरेका छन्।
डा. शर्माले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आइरहेका छन्।
नोस्तहिम मियाका लागि गरिएको यो सहयोग सांसद शर्माको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको अर्को उदाहरण बनेको छ।