काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा पुगेको छ । शनिबारको खेलमा मधेस प्रदेशमाथि १९३ रनको फराकिलो जित हासिल गर्दै पुलिस सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा पुगेको हो ।
लमहीमा भएको खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै १ बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर २८८ रन बनायो ।
कप्तान दिपेन्द्र सिंह ऐरीले ३६ बलमा ६३, आरिफ शेखले ५४ बलमा ५५ तथा अर्जुन साउदले ७३ बलमा ४७ रन बनाए ।
रुपेश सिंहले ४, विशाल पटेलले ३ तथा कमल गुप्ताले २ विकेट लिए ।
जवाफमा मधेसले २६.१ ओभरमा अलआउट हुँदै ९५ रनमात्र बनाउन सक्यो । दिपेस दासले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजबंशीले २८ रन खर्चेर ५ विकेट लिए ।
त्यस्तै सिद्धार्थनगरमा भएको खेलमा जित हासिल गर्दै त्रिभुवन आर्मी क्लब पनि अपराजित रहँदै शीर्ष दुईमा रहेको छ ।
आर्मीले कोशी प्रदेशलाई ७ विकेटले हरायो । खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै अलआउट हुँदै २३० रनमा समेटियो । सुभन गहतराजले ५१, सोनु अन्सारीले ४४ तथा सुजन थपलियाले ४२ रन बनाए ।
आर्मीका सोमपाल कामीले ४ तथा आकाश चन्द र शहाब आलमले २–२ विकेट लिए ।
जवाफमा आर्मीले ४७.१ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर तिर्थराज दासले १३९ बलमा अविजित रहँदै ११२ रन बनाए ।
त्यस्तै बसिर अहमदले अविजित रहँदै ६२ बलमा ६१ रन बनाए ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा समान ४ खेलबाट ८ अंकसहित नेपाल पुलिस क्लब शीर्ष तथा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।
सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेश ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान २–२ अंक छ ।
कोशी प्रदेश ४ खेलमा अंकविहीन छ । कोशीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । खाता नखोल्ने कोशी एकमात्र टिम हो ।