सांसद डा सुनील शर्माले गरे इलामका मानबहादुरको निःशुल्क उपचारको व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
909
Shares
काठमाडौँ । इलामको सूर्योदय नगरपालिका-९ का ६१ वर्षीय मानबहादुर खड्का आर्थिक अभावका कारण लामो समयदेखि उपचार नपाएर पीडित थिए।
यो विषय इलामका प्रदेश सांसद तथा पूर्व कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सम्सेर राईको ध्यानमा आयो। आफ्नै निर्वाचन क्षेत्रका नागरिक उपचार नपाएर दुःख भोगिरहेको थाहा पाएपछि सांसद राई स्वयं बिरामीको घर पुगे ।
बिरामीको अवस्था देखेर उनले नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सांसद डा. सुनील शर्मालाई जानकारी गराए । सांसद डा. शर्माले खबर सुन्नासाथ मानबहादुरलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ल्याउन आग्रह गर्दै निःशुल्क उपचारको व्यवस्था गरिदिने बताए ।
त्यसपछि सम्सेर राईको पहलमा बिरामीलाई काठमाडौँ ल्याइएपछि हाल केएमसीमा उपचार प्रक्रिया शुरु भइसकेको केएमसीले जनाएको छ।
डा शर्मा नेतृत्वको केएमसीले देशका ग्रामीण तथा दुर्गम भेगका जनताहरूलाई लक्षित गरी निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।
सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म, स्वास्थ्य शिविरमार्फत विपन्न नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन्। शिविरमा सम्भव नभएका जटिल केसहरूलाई उनले केएमसी र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् ।
विशेषगरी डा शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूलाई पार्टी नहेरी नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन् । आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि केएमसीमा समेत यस्तै व्यवस्थाहरू गरिएको छ।
सांसद डा. शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद हुन् । उनले आफ्नो जीवन समाजसेवा र मानवताको निम्ति समर्पित गर्दै आउनुभएको छ। उनको यो उदार कार्यले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरूलाई आशाको दियो बाल्ने काम गरेको छ।