पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा पुगेका छन् । शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गर्ने कार्यक्रम छ । शाह शुक्रबार नै सडकमार्ग हुँदै कुरिनटारमा आएर बसेका थिए ।
उनी दुई साता अघिमात्र पोखराबाट काठमाडौँ फर्किएका थिए । एक महिना पोखरा बसेका शाहले स्याङ्जा र बागलुङको भ्रमण गरेका थिए । सो क्रममा नागरिकले उनको भव्य स्वागत गरेका थिए ।
गोरखा दरबार शाहवंशका राजाहरूको आफ्नो घर भएको भन्दै त्यहाँ पूर्वराजपरिवारका नाममा नित्यपूजा हुने गरेको शाहको भ्रमणको संयोजन गरिरहेका संस्कृतिविद् जगमान गुरुङले बताए ।
शनिबार बिहानपूर्वराजा गोरखा दरबार पछाडिको बसपार्क पुगेसँगै त्यहाँ नागरिकले उनको भव्य स्वागत गरेका छन् ।
बसपार्कमा स्वागत गर्न पाँच सय एक सदस्यीय समिति बनाइएको थियो । शाह करिब दुई घण्टा गोरखनाथ र कालिका भगवतीको पूजा गर्ने र वज्र भैरवमा पनि पूजा सामग्री पठाउने तयारी छ । त्यहाँ फूल, प्रसाद र सगुन ग्रहण गरेर पूर्वराजा शाह कुरिनटार नै फर्किने बताइन्छ ।
शाहले आइतबार मनकामना मन्दिरमा पूजाअर्चना गर्ने तयारी छ ।
पोखरा बसाइका क्रममा उनले प्रजातन्त्र दिवसका दिन जारी गरेको भिडिओ सन्देशमा ‘देश जोगाउने हो भने आफूलाई साथ दिन’ आह्वान गरेका थिए ।
उनले देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै असन्तोष व्यक्त गरेका थिए ।
आफूले जनताको भलोका लागि पद र सुखसुविधा त्यागेको बताएका पूर्वराजा शाहले त्यसलाई कमजोरी नठान्न चेतावनी दिएका थिए ।
उनले भनेका थिए, “हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ, अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो, हामी तयार छौँ ।’
शाहको यो सन्देशपछि राजावादीहरु उत्साहित भएका छन् भने गणतन्त्रवादी रुष्ट बनेका छन् ।