भ्रष्टाचारको दुष्चक्रले गर्दा जनतामा निराशा - बाबुराम भट्टराई [भिडियो]
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउँथ्यो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
627
Shares
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएकी छन् । जनकपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गरे ।
उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गरे । संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि बेलामा नबनाइदिँदा ठिक ढङ्गले कार्यान्वयन हुन नसकेको बताए ।
उनले भने, ‘अहिले जे छ, पुराना खास गरी काँग्रेस, एमाले र माओवादी र पहिचानवादी आन्दोलनमा आएका साथीहरूको नेतृत्व पनि जसरी बिस्तारै थाक्दै, गल्दै, निष्क्रिय, गतिहीन जस्तो बनेको छ । त्यो एउटा पाटो हो । त्यसको विकल्प भनेको त्यो भन्दा अग्रगामी, संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर यसका अपूर्णता, शासकीय स्वरूपका जुन अपूर्णता छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउँथ्यो । त्यो हुन नसक्नु एउटा कारण हो । अर्को सङ्घीयतामा गयौँ तर संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि बेलामा नबनाइदिँदा त्यसको ठिक ढङ्गले कार्यान्वयन भएको छैन । संघीयता फेरि पहिचान, अधिकार सहितको संघीयता भन्ने एक अर्थमा अपूरो पनि थियो । राज्यका अङ्गहरू ब्युरोकेसी, अड्डा अदालत, सुरक्षा अङ्गहरूको बेलैमा रूपान्तरण हुन नसक्दा भ्रष्टाचारको दुष्चक्र छ । त्यसले गर्दा जनता वाक्क दिक्क भएको हो ।’