ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिन कुलमानलाई बर्खास्त गरियो - सांसद ढकाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
1k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच सेटिङ मिलाउन नसकेको कारण कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको आरोप लगाएका छन् । बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारको उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिनु रहेको बताए ।
उनले भने, ‘मन्त्रालयमा सेटिङ नमिलेको हो नि । उनको कार्यसम्पादनमाथि प्रश्न उठाइयो । उनकै कार्यकालमा हैन प्राधिकरणले १२ अर्ब रुपैयाँ फाइदा कमाएको ? प्रधानमन्त्री हुने बित्तिकै ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नतिरे पनि उद्योगको लाइन जोड्नु कसले भनेको ? कुलमानले लाइन काट्ने बित्तिकै हतार हतार जोड भनेको कसले ? सरकारको सेटिङ ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नउठाउनको लागि हो, हेर्दै जानुहोला ।’
घिसिङकै कार्यकालमा प्राधिकरणले १२ अर्ब रुपैयाँ नाफा कमाएको भए पनि सरकारले कायरतापूर्वक पदमुक्त गरेको उल्लेख गर्दै आफ्नो र आफ्नो पार्टीको लागि यो निर्णय स्वीकार्य नहुने उनको भनाइ छ ।