रुकुम । नेपाल पत्रकार महासंघको नयाँ सदस्य सिफारिसको क्रममा रुकुमबाट महासँघको निर्णय विपरित सिफारिस भएको भन्दै पत्रकाहरुले आन्दोलीत भएका छन् । पत्रकार महासंघका केही पदाधिकारी र जिल्ला स्थित पत्रकारका पेशागत संघ संगठनहरुले महासंघका जिल्ला अध्यक्ष र सचिवको मिलेमतोमा निर्णय विपरित सिफारिस भएको आरोप लगाउदै आन्दोलीत भएका हुन ।
मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले गत भाद्र २६ गते भएको महासंघको बैठकले सर्वसहमतिमा गरेको निर्णय विपरित अध्यक्ष गणेश बिक चिन्तन र सचिव सुरेन्द्र खत्रीको मिलेमतोमा किर्ते सूची र वैठक पुस्तिका बनाई केन्द्रमा सिफारिस गरेको बताएको छ । नयाँ सदस्यताका लागि सर्वसम्मत रुपमा सिफारिस गरिएका भन्दा बाहेकका मान्छेलाई गुपचुपमा सिफारिस गर्नु, सम्बन्धित सञ्चार माध्ययमले सिफारिस गरेको भन्दा अर्कै मान्छेलाई सिफारिस गर्नु, बैठक पुस्तिका र सिफारीस गरिएको सुची कार्यसमितिका पदाधिकारी सदस्यलाई उपलब्ध नगराउनु जस्ता अपारदर्शी कार्य गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
अब केन्द्रीय पदाधिकारीको रोहवरमा पुनः छलफलको आयोजना गरी सिफारिसको नयाँ निर्णय नभएसम्म नेपाल पत्रकार महासंघले अघि बढाउने कुनै पनि कामकारवाही सहयोग नगर्ने तथा तत्कालै गलत कार्य नसच्चिए थप आन्दोलनका कार्यक्रम अघि बढाउने महासँघ रुकुमका सह सचिव हरि गौतमले जानकारी दिए ।
गत भाद्र २६ गते भएको महासंघको बैठकबाट सर्वसहमतिमा ५४ जना पत्रकारको नयाँ सदस्यताको लागि सिफारीस गरिएको भएपनि अध्यक्ष र सचिवको मिलोमतोमा ५२ जनाको मात्र र त्यो पनि सम्बन्धित सञ्चार माध्ययमले सिफारिस गरेको भन्दा अर्कै मान्छेलाई सिफारिसको लिष्टमा पठाएको पाएको उनले बताए । नेपाल पत्रकार महासंघका उपाध्यक्ष आदर्श केसी, सह सचिव हरि गौतम, कोषाध्यक्ष लक्ष्मण केसी, सदस्य प्रविर ददेल लगायत पत्रकारका पेशागत संघ संगठनहरुले विरोध सुरु गरेका छन् ।