को बन्ला सशस्त्रको एआईजी ? जो बन्नेछन् तीन वर्षपछि आईजीपी
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
804
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ । चन्द्रप्रकाश गौतमको अवकाशसँगै एक पद रिक्त भएको हो ।
सशस्त्रले उक्त पदस्थापन गर्नुका साथै अर्को एक दरबन्दी थप्ने तयारी गरेको छ । एक एआईजी पद थप्नका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) थालिएको छ ।
को हुन् अबका दाबेदार ?
सशस्त्रमा डीआईजीमध्येका सिनियर कमल गिरी छन् । उनलाई अबका एआईजीको स्वभाविक दाबेदार मानिएको छ ।
गौतमको बिदाईसँगै २०५८ सालमा नेपाली सेनाबाट गएका १२५ जना लगभग सबैजसोको बिदाई भइसकेको छ ।
सेनाबाट गएकालाई एक तह बढुवा गरेर सशस्त्रको बलियो टिम बनाइएको थियो ।
गौतमको मंगलबार बिदाई गरिएसँगै उनको कुर्सीमा बस्नका लागि दौडधूप चलिरहेको छ ।
स्वभाविक दाबेदार गिरीलाई खाली एआईजीमा राखेर अर्को एक जना दरबन्दी थप्ने योजना भइरहेको हो ।
सशस्त्रको उच्च स्रोतका अनुसार डीआईजी गणेश ठाडा मगरलाई एआईजी बनाउने तयारी भएको छ । तर उनीसँगै कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी पनि दाबेदार रहेका छन् ।
अहिले एआईजी बन्ने सशस्त्र अधिकृत तीन वर्षपछि महानिरीक्षक बन्ने भएकाले पनि सोचेसम्झेर नै बढुवा गरिने छ । वा दलीय प्रभावमा आफ्नोलाई सुरक्षित गरिने छ ।
सशस्त्रका बाँकी तीन जना डीआईजीको भने पुसमा बिदाई हुनेछ । गत वर्षको पुसमै उनीहरुको बिदाई हुनुपर्ने भए पनि एक वर्ष थप गर्न सकिने कानूनी व्यवस्थाअनुसार एक वर्ष पदावधि थपिएको थियो ।