सहरी क्षेत्रमा नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैनः मन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
699
Shares
फाइल तस्बिर
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी क्षेत्रमा थप गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा उनले देशका सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नभएको बताएका हुन् ।
उनँले भने “सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनुपर्दैन । भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्न गरी क्षमता वृद्धि गरे पुग्छ ।”
उनले देशभरका छ हजार सात सय ४३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुर्याउनुपर्ने र स्वास्थ्य सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधि नहुँदा गुणस्तरीय सेवा दिन नसकिरहेको बताए ।
सरकारले नागरिकको स्वास्थ्य बिमाका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बिमा बोर्डले बिभिन्न अस्पताललाई तिर्नुपर्ने रु ३७ अर्ब पुगिसकेको बताउँदै नागरिकमा आधारित बिमा व्यवस्था लागू गर्न नसके बिमा सङ्कटमा पर्ने उल्लेख गरे ।
मन्त्री पौडेलले भने, “डुब्न लागेको बिमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बिमा प्रणाली लागू गर्नुपर्छ ।”
मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै अस्पतालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए ।
अस्पतालका कार्यकारी निर्देशक डा डिके रोशनले देशकै अब्बल अस्पताल बनाउने लक्ष्यका साथ अघि बढिरहेको र हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जानकारी दिए ।