माछापुच्छ्रे बैङ्क सिबिएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
633
Shares
काठमाडौँ। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्क लिमिटेडले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ। माछापुच्छ्रे बैङ्क लिमिटेडले मलेसियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग सहकार्य गरी मिति २०८२-०१-१५ गते सोमबार देखि विधिवत् रूपमा रेमिटेन्स सेवा सुरुवात गरेको हो। रेमिट्यान्स सम्बन्धी उक्त सम्झौता पत्रमा सिबिएल मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैङ्क लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरूले मलेसिया स्थित सिबिएल मनी ट्रान्सफरका १५ वटा शाखा, र सिबिएल मनी ट्रान्सफरको सिटी रेमिट एपबाट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैङ्कका १६५ वटा शाखाहरू, ९९ शाखारहित बैङ्किङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिने बैङ्कले जनाएको छ।
साथै सिबिएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट गरी पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैङ्क खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैङ्कले मिलाएको छ। मलेसियामा रहेका नेपाली कामदारहरूको सुविधाको लागि माछापुच्छ्रे बैङ्कले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैङ्कको मोबाइल बैङ्किङ एपको सेवा पनि उपलब्ध गराएको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्क लिमिटेड पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरू, ९९ शाखारहित बैङ्किङ सेवा र ११ एक्सटेन्स काउन्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटिएमहरू मार्फत १७ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ।