नीति तथा कार्यक्रम आशा गरिएको जस्तो गुणात्मक महत्वको आएन - बाबुराम भट्टराई [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
620
Shares
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्वको नभएको बताएका छन् । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका छन् ।
उनले नीति तथा कार्यक्रम गुणात्मक महत्वको आउँछ भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रममा निरन्तरताकै लागि आएको जस्तो देखिएको बताए । पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नीति तथा कार्यक्रममा केही सुधारात्मक कुराहरू भए पनि अहिलेको लागि त्यो पर्याप्त नभएको जिकिर गरे । उनले जनताको जीवनमा असर पार्ने र मानिसले अपेक्षा गरे अनुसारको ठोस विषयहरू नसमेटिएको बताए ।
उनले भने, “अलि गुणात्मक महत्वको आउँछ कि भन्ने अपेक्षा थियो, तर उनहरूले निरन्तरता मै ल्याउनुभयो कि जस्तो लाग्यो । आउन त सबै कुरा आएको छ तर त्यो मात्रात्मक, सुधारात्मक तरिकाले आयो । देशको आवश्यकता सबै क्षेत्रमा गुणात्मक महत्वको आउँछ कि भन्ने मेरो अपेक्षा थियो । मैले त्यसो पाइन । निरन्तरता मै त्यो आयो । केही सामान्य कुराहरू त छन्, सुधारात्मक छन् । तर, अहिलेको निम्ति त्यति पर्याप्त छैन । जनताको जीवनमा असर पार्ने ठोस कुराहरू, जो मानिसले अपेक्षा गरेको छ त्यो चाहिँ आएन ।”