लुम्बिनीमा कुकुरले टोकेमा लगाउने एआरभी भ्याक्सिन मौज्दात सकियो, उपचार सेवा बन्द, केन्द्रले पनि दिएन
मन्त्रालयले फास्ट ट्रयाकबाट टेण्डर गर्दा पनि कम्तीमा एक महिना लाग्ने बतायो, टेण्डरको तयारी
नारायण वली,
प्रकाशित २०८२ वैशाख २४ बुधबार
995
Shares
लुम्बिनी । प्रदेशको गौरवको आयोजना अन्तर्गत विकसित हुँदै गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कुकुरले टोकेपछि लगाइने रेबिजको एआरभी भ्याक्सिन सकिएपछि उक्त सेवा बन्द भएको छ ।
दैनिक झण्डै दुई सय बिरामीले सेवा लिने गरेको अस्पतालमा भ्याक्सिन नहुँदा नागरिकहरु मर्कामा पर्नुको साथै नेपाल सरकारबाट निःशुल्करुपमा प्रदान गरिँदै आएको भ्याक्सिन नभएपछि नागरिकहरुले अब बाहिर करिब सात सय रुपैयाँमा लगाउनुपर्ने बाध्यता भएको छ ।
लुम्बिनीका बाह्र वटा जिल्लामा एक महिनामा सात हजार भ्याक्सिन आवश्यक रहेको लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका कोल्ड चेन निरीक्षक हरिप्रसाद आचार्यले बताए । उनले भने, ‘भ्याक्सिनको मौज्दात सकिएपछि म यतिबेला काठमाडौँ आएको छु ।’
उनले अगाडि भने, ‘स्वास्थ्य मन्त्रालयमा बुझ्दा यहाँ पनि नभएको र उपलब्धका लागि टेण्डर हाल्न लागिएको जानकारी पाएको छु ।’
‘मन्त्रालयका अनुसार फास्ट ट्रयाकबाट टेण्डर गर्दा पनि कम्तीमा एक महिना लाग्छ रे’, हरिले भने, ‘मैले कहिलेकाहीँ बौलाहा कुकुरले टोकेर एकैपटक धेरै जनालाई लगाउनुपर्ने अवस्था आयो भने आपतकालीन अवस्थाको लागि दुई सय भ्याक्सिन प्रदेशका लागि राखेको छु ।’