सल्लाहकार नियुक्तिमा कानूनी मापदण्ड बनाउन सांसद खतिवडाको ध्यानाकर्षण [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
622
Shares
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सल्लाहकार नियुक्ति सम्बन्धी व्यवस्थालाई संविधान र कानून बमोजिम मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आज बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले गाउँपालिका अध्यक्षदेखि वडा अध्यक्षसम्मले कानूनी र प्रेस सल्लाहकार राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड बनाउन सरकारसँग माग गरेका हुन्। उनले संघीय मन्त्रालय एवं उच्च पदहरूमा समेत बिचौलियाको पहुँच सल्लाहकारको रूपमा हुने गरेको उल्लेख गर्दै सल्लाहकार नियुक्ति सम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताए।
आर्थिक अनियमितता र चुहावट कम गर्न सल्लाहकार नियुक्ति प्रक्रियालाई पारदर्शी र कानूनी दायरामा ल्याउनुपर्नेमा सांसद खतिवडाले जोड दिए। संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिभन्दा बढी सल्लाहकार हुने गरेको बताउँदै उनले सल्लाहकार र पिएसओ नियुक्ति सम्बन्धी मापदण्ड तत्काल तय गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद खतिवडाले संविधान र कानूनले तोके बमोजिम मात्र सल्लाहकार राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले जसलाई पायो त्यहीलाई सल्लाहकार नियुक्त गरेर राष्ट्रको सम्पत्ति दोहन गर्ने गलत प्रणालीको अन्त्य हुनुपर्ने बताए।