arrow

गृहमन्त्री लेखकले सीमामा हुने अपराध र चोरी-तस्करी रोक्न दिए निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
ramesh-lekhak-82-2-9t.jpg

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेस प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा  हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले खुल्ला सीमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिए ।

गृहमन्त्री लेखकले प्रदेशको शान्तिसुरक्षाको जिम्मेवारी बोकेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले  देशको बदलिँदो परिस्थितिअनुसार इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिए । 

“देशमा हाल लागुऔषध, सडक दुर्घटना, आत्महत्या तथा साइबर क्राइमलगायतका सामाजिक विकृतिका गम्भीर समस्या बढ्दै छन् । मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले पनि यहाँ थप सतर्कता अपनाउन आवश्यक छ । उल्लेखित  समस्यालाई के कसरी रोकथाम गर्न सकिन्छ, त्यसतर्फ पनि सुरक्षा निकायले गम्भीरतापूर्वक लाग्नुपर्ने जरूरी छ”, उनले भने । 

 गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानूनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमानदारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले  सेवा प्रवाह गर्न निर्देशन दिए । 

मधेस प्रदेशका मुख्यमन्त्री  सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गरे । उनले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गरे । 

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गरे । 

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ । 

मधेस सबैभन्दा बढी चोरी तस्करी हुने प्रदेशमा गनिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ