जातीय भेदभाव अन्त्यका लागि पीडित-पीडकबीच सम्झौता आवश्यक: सहमहामन्त्री परियार
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
635
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जातीय भेदभाव र छुवाछुतको अन्त्यका लागि पीडित र पीडकबीच स्पष्ट सम्झौता हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय समता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै परियारले जातीय विभेदको अन्त्य केवल कानुनी प्रावधानबाट मात्र नभई सामाजिक, मानसिक र नैतिक रूपान्तरणबाट सम्भव हुने बताए।
उनले पीडकले 'आजदेखि छुवाछुत गर्दिनँ' भनी प्रतिबद्धता व्यक्त नगरेसम्म जातीय भेदभाव अन्त्य नहुने बताए। परियारका अनुसार जातीय भेदभावको अन्त्य तल्लो तहबाट नभई नीति निर्माणको तहबाटै पहल गरिनुपर्छ। "जबसम्म पीडित र पीडकका बीचमा सम्झौता हुँदैन, तबसम्म जातीय भेदभाव अन्त्य हुँदैन," उनले भने, "त्यो सम्झौता भनेको आजका मितिदेखि हामीले जातीय भेदभाव र छुवाछुत गरेका थियौँ, अबदेखि गर्दैनौँ भन्ने संकल्प गर्नुपर्यो।"
सोही कार्यक्रममा नेपाली काँग्रेसकी सांसद सीता मिजारले जातीय विभेद अन्त्यका लागि स्पष्ट कानुनी व्यवस्थाका साथै सकारात्मक आन्दोलनको आवश्यकता औँल्याइन्। संसदमा बोलेर मात्र जातीय भेदभाव र छुवाछुत अन्त्य नहुने भन्दै उनले दलितको मुद्दामा तल्लो तहबाट पर्याप्त आवाज नउठेको र संसदमा समेत दलितको मुद्दामा मात्रै बोल्ने हो र भन्ने प्रश्न उठ्ने गरेको गुनासो गरिन्।
मिजारले जातीय भेदभाव र छुवाछुतको विषय अझै पनि संक्रमणकालीन अवस्थामै रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि ठूलो आन्दोलन आवश्यक रहेको बताइन्।