भक्तपुर । भक्तपुरको बालकोटमा रोशनी शाही मृत फेला परेकी छिन् । सूर्यविनायक नगरपालिका ३ स्थित एक घरमा ५० वर्षीया रोशनीमृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउँसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइँमा उनको शव फेला परेको थियो। उनका श्रीमान् उपत्यका बाहिर गएका थिए । केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन् ।
प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन् । जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ । उनको शरीरमा कुनै चोटपटक भने छैन ।
घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन् ।