'गृहमन्त्रीलाई जवाफ दिएर भाग्न दिँदैनौँ' - रास्वपा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
646
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले सदनमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सांसद मनिष झाले मानव तस्करीसँग जोडिएको भिजिट भिसा प्रकरणलाई सदनमा सशक्त रूपमा उठाउने जानकारी दिए।
उनले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा संलग्नता रहेको कुरा सञ्चारमाध्यममा आइरहेको भन्दै बैठकमा सो बारेमा छलफल भएको बताए। विगतमा कुनै पनि प्रश्न उठ्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त र व्याख्याहरू वर्तमान गृहमन्त्रीले बिर्सेको उनले बताए।
"गृहमन्त्रीज्यूको भिजिट भिसाको प्रकरणमा संलग्नता र आज विभिन्न दलहरूले गरेको बैठक, त्यसबाट आएको अभिमत, राजनीतिक स्टेटमेन्टहरू आएको छ, त्यसको बारेमा हाम्रो रणनीति के हुन्छ, त्यसको बारेमा आवश्यक छलफल गरेका छौँ," झाले भने, "आज यथेष्ट रूपमा यो एजेन्डामा सबैले आफ्नो अभिमत राखेर सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौँ। हामी अब सदनमा अनुभवी भइसकेका छौँ। पहिला प्लान गर्थ्यौं, अब हामी रियलाइज गर्ने अवस्थामा पुगिसक्यौं।"
सांसद झाले विगतमा कुनै पनि प्रश्न उठ्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरू वर्तमान गृहमन्त्रीले लगभग एक वर्षअघि सदनमा प्रस्तुत गरेको स्मरण गराए। "हामी उहाँलाई भोलि त्यो सम्झाउन चाहन्छौँ," उनले थपे।
झाले आफूहरूले प्रश्न सोध्न पाउनुपर्ने र सोध्दै नसोधेको प्रश्नको तयारी गरेर जवाफ दिन नमिल्ने बताए। उनले संसदमा गृहमन्त्री लेखकलाई जवाफ दिएर लुसुक्क हिँड्ने काम गर्न नदिने चेतावनी दिए। काँग्रेसको पदाधिकारी बैठकले आरोपको 'क्लिन चिट' दिन नमिल्ने तर्क पनि उनले गरे।