राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने क्षमता विस्तार गर्दैछौँ- स्वास्थ्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
626
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी सबै प्रकारका रोगहरूको परीक्षण नेपालभित्रै हुने व्यवस्था मिलाइरहेको बताएका छन्।
नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित बृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यो जानकारी दिएका हुन्।
मन्त्री पौडेलका अनुसार, आफू मन्त्री हुनुअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २० प्रतिशत मात्रै रोगहरूको परीक्षण हुने गरेको थियो। तर, आफ्नो कार्यकालमा प्रयोगशालाको क्षमता वृद्धि गरी अहिले झन्डै ५० प्रतिशत रोगहरूको परीक्षण त्यहीँ हुने परिस्थिति बनेको उनले दाबी गरे।
उनले अब सरकारी अस्पतालहरूले त अधिकांश परीक्षण त्यहीँ गर्ने वातावरण बनेको र निजी अस्पतालहरूले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग सम्झौता गरेर परीक्षण गर्ने वातावरण निर्माण भइरहेको बताए। मन्त्री पौडेलले अब कुनै पनि परीक्षणका लागि मुलुक बाहिर पठाउन नपर्ने गरी केन्द्रीय प्रयोगशालामै सबै परीक्षण हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको जिकिर गरे।
मन्त्री पौडेलले बिग्रिएर फालिएका ५५ प्रतिशत स्वास्थ्य उपकरणहरू राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा मर्मतपछि सञ्चालनमा आएको जानकारी दिए। यसले स्वास्थ्य सेवामा उपकरणको अभावलाई केही हदसम्म कम गर्न मद्दत पुगेको छ।
कार्यक्रममा मन्त्री पौडेलले पारदर्शी समाज निर्माण र सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको उपस्थिति अनिवार्य रहेको बताउँदै यस क्षेत्रमा काम गर्नेहरूलाई उत्साहित बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे।