काठमाडौँ । राजावादीहरुले आज काठमाडौँ उपत्यका बन्दको आश्वान गरेका छन् । बन्दको प्रभाव बिहान परेको छ । सार्वजनिक यातायात व्यवसायीको आन्दोलनबीच सवारी कम चलेका छन् ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरूले आज काठमाडौँ उपत्यका बन्दको आह्वान गरेका हुन् । हिजोको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले आज बन्द गर्ने घोषणा गरेका हुन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उक्त घोषणा गरेका हुन् । सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
राप्रपा बन्दमा सहभागी नहुने
राप्रपा भने आजको बन्दमा सहभागी नहुने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा हिजो पक्राउ परेका सबै नेता कार्यकर्ता रिहा भएकाले बन्द जस्तो अलोकप्रिय कार्यक्रममा सहभागी नहुने बताएका हुन् ।
उनले आन्दोलनका अन्य नियमित कार्यक्रममा भने सहभागीता हुने जनाएका छन् ।
यस्तो छ उनको आइतबार राति जारी गरेको सन्देश– ‘आजको प्रदर्शनमा भएको हस्तक्षेपको भत्सर्ना गर्दै प्रहरी दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य माननीय दिपक सिंह लगायत आज पक्राउ परेका सबै नेता कार्यकर्ताहरू रिहा हुनुभएको छ। सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु। आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भए पश्चात हाम्रो सक्रिय सहभागिता रहनेछ।’
कमल थापासहित सात जना रिहा, मापसे गर्ने झा हिरासतमै
काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ ।
यहाँको निषेधित क्षेत्र तोड्न खाजेपछि दिउँसो पक्राउ गरिएकामा राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उक्त प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको बोहराले बताए ।