अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च, प्रतिकिलो एक हजार !
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
684
Shares
खोटाङ । जिल्ला सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अहिले प्रतिकिलो अकबरे खुर्सानी रु एक हजारमा बिक्री भइरहेको छ।
दिक्तेलका व्यापारीहरूले गाउँका कृषकहरूबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन्। मूल्य महँगो भए पनि स्वादिलो र औषधीय गुण भएको कारण उपभोक्ताले अकबरे खुर्सानी खरिद गरिरहेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बेमौसमी अकबरे खुर्सानी खेतीबाट हाल हप्तामा १४/१५ किलो खुर्सानी बिक्री गरिरहेको बताए। उनले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रोपेको र जिल्लामा अकबरे खुर्सानीको माग राम्रो रहेकाले आगामी दिनमा बेमौसमी खेतीलाई थप विस्तार गर्ने योजना रहेको बताए।
दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका कृषकले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ। व्यावसायिक तरकारी खेती गर्ने सीमित कृषकले राम्रो आम्दानीसमेत गर्दै आएका छन्।
जिल्लामा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य पनि हालसम्मकै उच्च बनेको छ। उपभोक्ताहरूले सरकारले कृषकका लागि उपलब्ध गराउँदै आएको अनुदान नेताका नजिकका व्यक्तिले लिने र खेती नगरी फरफारक गर्दा तरकारी तथा फलफूलको मूल्य उच्च भएको गुनासो गरेका छन्।
दिक्तेलमा हाल गोलभेडा प्रतिकिलो रु १५०, कन्य च्याउ प्रतिकिलो रु ३००, प्याज प्रतिकिलो रु ९०, आलु प्रतिकिलो रु ६०, बन्दागोभी प्रतिकिलो रु ४० तथा काउली प्रतिकिलो रु १५० मा बिक्री भइरहेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले सरकारी अनुदानमा वास्तविक कृषकको पहुँच नपुगेसम्म तरकारीको मूल्य अझै आकाशिने बताए।
जिल्लामा उत्पादित फलफूल तथा तरकारीको मूल्य वृद्धि भएपछि तराईका विभिन्न जिल्लाबाट ल्याइएका तरकारी र फलफूलले बजार भरिएको छ। तराईबाट सस्तो मूल्यमा खरिद गरेर ल्याइएका तरकारी तथा फलफूल बिना विषादी परीक्षण खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकाय मौन रहेकोमा पनि चिन्ता व्यक्त गरिएको छ।