झापा । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा नेपाल र बंगलादेशबीचको व्यापारमा आयातको तुलनामा निर्यात निकै कम देखिएको छ। काँकडभिट्टा नाका हुँदै बंगलादेशबाट ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ। यसको तुलनामा नेपालबाट जम्मा ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादनहरू बंगलादेश निर्यात भएका छन्।
काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट आयात भएका वस्तुहरूमध्ये अप्रशोधित जुट सबैभन्दा धेरै (१ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबर) रहेको छ। आयात भएका अन्य प्रमुख सामग्रीहरूमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड बेभरेज लगायतका सामग्रीहरू छन्।
नेपालबाट बंगलादेश निर्यात भएका वस्तुहरूमध्ये खुदो (मोलासेस) सबैभन्दा प्रमुख (३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबर) रहेको छ। यसबाहेक, जडीबुटी, एनिमल फिड (पशु आहारा), र घरायसी सामानहरू पनि बंगलादेश निर्यात भएका प्रमुख उत्पादनहरू रहेको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए।
यस तथ्यांकले नेपाल र बंगलादेशबीचको व्यापार घाटा फराकिलो रहेको देखाउँछ, जहाँ आयातको तुलनामा निर्यात निकै कम छ।