सशस्त्रका दुई गोताखोर अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
970
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सशस्त्र प्रहरीका दुई जना गोताखोर सप्तकोशी नदीमा बेपत्ता भएका छन् । अभ्यासका क्रममा रहेका उनीहरु डुबेर बेपत्ता भएको सशस्त्रका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कालिदास धौवजीले बताए ।
उनले यो घटना दिउँसो ३ बजेर १० मिनेटमा भएकाले साढे तीन घण्टा भइसकेको बताए । उनको भनाइअनुसार अब पानीमा डुबेकाले र अक्सिजन पनि यति समयसम्मका लागि नहुने भएकाले जीवितै उद्धार हुने सम्भावना कम छ ।
डीआईजी धौबजीले पहिलो पटक सशस्त्रमा गोताखोरको यो घटना भएको बताए । बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी हुन् । सशस्त्र प्रहरीको मधेस प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि बिहीबार गोताखोर सहितको टोलीले अभ्यास गर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।
सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपदमा परेका व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहँदा यो घटना भएको हो ।
बेपत्ता भएकाहरूलाई उद्धार गर्न सुनसरी र सप्तरीका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरी उद्धारको काम भइरहेको भए पनि जीवितै उद्धार हुने सम्भावना कम छ ।