arrow

खोटाङको बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहितको पार्क

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
yalamber-park.jpg

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुइपास्थित पञ्चदोबाटोमा किरातकालीन प्रथम राजा यलम्बरको ११0 फिट अग्लो पूर्ण कदको प्रतिमासहितको ‘यलम्बर पार्क’ निर्माण सम्पन्न भएको छ। ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यो भव्य पार्क निर्माण गरिएको हो।

माझ किरातका रुपमा परिचित खोटाङको बुइपामा निर्मित यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ। करिब १४ करोड रुपैयाँ लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यो पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिई सम्पन्न गरेको हो।

पार्कभित्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रवेश शुल्क लिने गरी घुम्ने ठाउँ, विश्रामका लागि फलामे ट्रष्टसहितका कुर्सी, निःशुल्क वाइफाइ, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले जानकारी दिए। उनले भने, “यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ। चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल प्रतिमा राखेका छौँ।” राईले आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निकै आकर्षक बनेको र यसले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरिएको बताए।

हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको प्रतिमा विश्वमा निर्माण भएकामध्ये हालसम्मकै अग्लो र ठूलो भएको दाबी गरिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण गरिएको बताए।

“यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो। यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ,” उनले भने। पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ।

पार्क निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि नगरपालिकाले ठेकेदार कम्पनीलाई रकम भुक्तानी नगरेको ठेकेदार कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्सट्रक्सन प्रालिका प्रबन्धक सुनिल राईले जानकारी दिए। उनले गत वैशाख १० गतेभित्रै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भए पनि अहिलेसम्म नगरपालिकाले आफूहरूले पाउनुपर्ने रकम भुक्तानी नदिएको बताए।

राईका अनुसार यलम्बर पार्क निर्माण सम्पन्न गरेर यही जेठ १७ गते औपचारिक उद्घाटन गर्ने तयारी थियो, तर नगरपालिकाबाट करिब ३ करोड रुपैयाँ रकम भुक्तानी लिन बाँकी रहेको र नगरपालिकाले भुक्तानी गर्न नसक्दा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ल्याएर उद्घाटन गर्ने तयारी रोक्न बाध्य भएको उनले बताए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भने पार्क निर्माणमा कोशी प्रदेश सरकारको दायित्वअन्तर्गतको बजेट नगरपालिकामा प्राप्त नभएकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको बताए। उनले भने, “नगरपालिकाको तर्फबाट दिनुपर्ने भुक्तानी दिइसकेका छौँ। प्रदेश सरकारले ३ करोड ९० लाख बजेट उपलब्ध गराएको छैन।” नगरप्रमुख भट्टराईले प्रदेशबाट यो आर्थिक वर्षमा बजेट आउने सम्भावना कम रहेको र बजेट आएको खण्डमा तत्काल भुक्तानी दिएर सञ्चालनमा ल्याइने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ