arrow

फोहर स्रोतमा वर्गीकरण नहुँदा दिगो व्यवस्थापनमा चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
fohor-kakani.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिका (कामपा) ले फोहरलाई स्रोतमा नै प्रभावकारी रूपमा वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन सम्भव नहुने स्पष्ट पारेको छ। महानगरपालिकाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालाहरूसँगको छलफलमा यो धारणा प्रस्तुत गरेको हो।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने भन्दै त्यसका लागि फोहरको स्रोतमा नै प्रभावकारी वर्गीकरण हुनुपर्नेमा जोड दिइन्।

कामपाले आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थाहरूमा ९६ पटक हानिकारक फोहर व्यवस्थापन अनुगमन गरेको जनाएको छ। कामपा वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार, केही अस्पतालमा तीन पटकभन्दा बढी अनुगमन गरिएको छ। यस वर्ष पनि अस्पताल, क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिक, आइभीएफ सेन्टरको अनुगमन गरिएको छ। अनुगमन गरिएका स्वास्थ्य संस्थामध्ये चालू आर्थिक वर्षमा अनुगमन भएका स्वास्थ्य संस्थाका प्रतिनिधिहरू अनिवार्य समावेश हुने गरी सोमबारदेखि हानिकारक फोहर व्यवस्थापन र तरल फोहर प्रशोधन प्रणालीका विषयमा प्रशिक्षण सुरु भएको छ।

सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले घरघरमा औषधिजन्य फोहरको मात्रा भेटिन थालेकाले अस्पतालहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत फोहरबाट हुने जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने बेला भइसकेको बताए।

प्रशिक्षणमा स्वास्थ्य संस्थाजन्य फोहरको प्रकृति र व्यवस्थापन विधिका विषयमा प्रस्तुतीकरण गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले सावधानी र सचेतना भए स्रोतमै फोहरको मात्रा घटाउन सकिने बताए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, स्वास्थ्य संस्थाबाट प्रतिशय्या प्रतिदिन ०.९९ किलोदेखि १.७३ किलोसम्म फोहर उत्पादन हुन्छ। यसरी उत्पादन हुने सङ्क्रामक फोहरलाई निर्मलीकरण नगरी व्यवस्थापन गरिएमा जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्वहरूलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्या आउने गर्दछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ