नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौं- स्वास्थ्यमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
722
Shares
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसमक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ। मन्त्री पौडेलले यस प्रतिवेदनका सुझावहरूलाई कार्यान्वयन गर्दै नागरिकहरूले उचित मूल्यमा औषधि प्राप्त गर्ने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा समितिका संयोजक डा. पोषराज पाण्डेले प्रतिवेदन प्रस्तुत गर्दै हरेक दुई वर्षमा औषधिको मूल्य समायोजनका लागि सुझाव दिइएको बताए।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले लामो समयसम्म औषधिको मूल्यको गहन रूपमा अध्ययन नहुँदा कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिएकोले समायोजनका लागि समिति गठन गरिएको जानकारी दिए।
स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार, मन्त्री पौडेलले प्रतिवेदनका माध्यमबाट औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले उचित मूल्यमा औषधि प्राप्त गर्ने वातावरण बनाउन आफू क्रियाशील रहेको बताउँदै प्राप्त सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याए।
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माले प्रतिवेदन कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका सबै निकायको सक्रिय सहयोग अपरिहार्य रहेकोमा जोड दिए।