'एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध'
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
910
Shares
काठमाडौँ । भारतमा भएको एक भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ। अहमदाबादमा बिहीबार भएको एयर इन्डियाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र नभई विश्वलाई नै पुनः एकपटक हवाई सुरक्षाबारे सोच्न बाध्य पारेको छ।
जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो। स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएअनुसार, जहाजमा सवार चालक दलका सदस्यसहित २०० भन्दा बढी यात्रुको निधन भएको छ। दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ। बोइङ ७८७ ड्रिमलाइनरको यस दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्यो।
एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि बज्रपात पर्छ। त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी र जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एकसाथ ठूलो क्षति व्यहोर्छन्। छिमेकी मुलुक भारतमा भएको भयानक जहाज दुर्घटनाले नेपालको एभिएसन क्षेत्रलाई पनि सोचमग्न बनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भारतमा भएको भयानक जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय हवाई क्षेत्रलाई नै स्तब्ध बनाएको बताएका छन्। "जहाज दुर्घटना केकति कारणले भयो भन्ने कुरा अनुसन्धानपछि आउला तर, धेरै समयपछि ठूलो हवाई दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध पारेको छ। यसले हवाईयात्रीलाई सोचमग्न बनाएको छ," उनले भने।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पूर्व क्याप्टेन केबी पौडेलले प्राविधिक कमजोरीले एयर इन्डियाको जहाज दुर्घटना भएको हुनसक्ने पूर्वानुमान गरेका छन्। उनले भने, "नयाँ जहाज र अनुभवी पाइलटले उडाएकाले अहिले सरसरती हेर्दा मानवीयभन्दा पनि प्राविधिक कमजोरीले हो कि जस्तो देखिन्छ। जहाजको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरले दुर्घटनाको यथार्थ बाहिर ल्याउन मद्दत गर्नेछ।" उनका अनुसार जहाज दुर्घटनाको कारण दुवै इन्जिन फेल भएर वा फ्ल्याप, स्ल्याट अथवा मानवीय त्रुटि (ह्युमन फ्याक्टर) हुनसक्छ। उनले नेपालको हवाई क्षेत्रमा खासै असर नपरे पनि सम्बन्धित देश र एयरलाइन्सलाई ठूलो असर गर्ने उल्लेख गरे।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले ड्रिमलाइनरजस्तो ठूलो जहाजको यो पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताएका छन्। "ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो। अहिलेसम्म ड्रिमलाइनरमा मात्रै 'वान बिलियन प्यासेन्जर फ्लाइ' गरेको रेकर्ड छ। यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो। यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ," उनले भने। विश्व एभिएसन बजारमा ड्रिमलाइनरको सङ्ख्या करिब एक हजार १०० रहेको जनाइन्छ।
प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पछिल्लो समय सन् २०२४ को मध्यदेखि सन् २०२५ को यो अवधिसम्म मलेसियन एयरलाइन्सको जहाज दुर्घटनापछि यो सबैभन्दा ठूलो दुर्घटना हो। "नेपाल, भारत, एसियाभन्दा पनि विश्वकै 'एभिएसन इन्डस्ट्री'लाई 'ब्ल्याक डे' हो, जसरी बोइङ ड्रिमलाइनर ठूलो जहाज चालकदलका सदस्यसहित दुई सय ४२ जना सवार उक्त जहाज नेपालको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको 'सिनारियो' जस्तै भयो। उडेको केही क्षणभित्रै जहाज दुर्घटनाग्रस्त भएको देखिन्छ," उनले भने।
विज्ञहरूको भनाइमा सामान्यतः जहाज 'टेकअफ' र 'ल्यान्डिङ'का बेला बढी शक्ति चाहिन्छ। दुर्घटनाको प्रकृति हेर्दा एयर इन्डियाको जहाजले उड्नेबित्तिकै नियन्त्रण गुमाएको देखिन्छ। "जहाजले क्लाइम गर्ने बेला इन्जिन फेल भएको हो कि अथवा जहाजका भित्री मेकानिकल कमजोरीले भएको हो वा अरू कारणले हो, त्यो चाहिँ पछि अनुसन्धानले देखाउँला, तर यो भयानक दुर्घटनाले विश्वको एभिएसन कम्युनिटीलाई पुनः झस्काएको छ," सूचना अधिकारी भूलले बताए।
उनले भारतमा भएको जहाज दुर्घटनाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सिङ्गो हवाई क्षेत्रलाई स्तब्ध पारेको बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डबमोजिम जहाज दुर्घटनाको अनुसन्धान हुनेछ। जहाजको इन्जिन फेल, कन्ट्रोल कमाण्डको कमजोरी वा मानवीय कमजोरीले जहाज दुर्घटना भएको हुनसक्ने प्राधिकरणको विश्लेषण छ।
प्राधिकरणका अर्का एक विज्ञका अनुसार एयर इन्डियाको दुर्घटनाअघि पाइलटले 'मेडे' (Meday) शब्द बोलेर एअर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई सूचना दिएका थिए। सामान्यतया पाइलटले रेडियो सन्देशमार्फत तीनपटक मेडे उच्चारण गरेको अवस्थामा जहाज दुर्घटना हुँदैछ वा गम्भीर आपत्कालीन अवस्थामा छ भन्ने बुझिन्छ।
यसले विश्व समुदायलाई अझै हवाई उडानमा उडान सम्परीक्षण (एयरवर्दिनेस) को पाटोलाई ध्यान दिनुपर्छ भनेर सजग गराएको सूचना अधिकारी भूलले उल्लेख गरे। उनले थपे, "एयरवर्दिनेसको पाटोमा अझै हामीले ध्यान दिनुपर्ने सन्देश जान्छ। नेपालमा मनसुन जारी रहेकाले यो समयमा उडान सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्छ।"
आइकाओको नियमानुसार जुन देशमा जहाज दुर्घटना भएको छ, त्यही देशले छानबिन गर्छ। सोही मुलुकले छानबिन गरेर सुरुमा प्रारम्भिक र तीन महिनापछि अन्तिम प्रतिवेदन प्राधिकरण र आइकाओलाई पठाइन्छ। विज्ञहरूको जोड छ कि जहाजको प्राविधिक पक्षबाट नेपालले पाठ सिकेर नेपालको हवाई उद्योगलाई सुरक्षित बनाउन तथा मौसम मात्र नभई जहाजको प्राविधिक पक्षलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।
जतिसुकै ठूलो जहाज भए पनि एउटा इन्जिन फेल भएपछि अर्को इन्जिनले उड्ने गरी बनाइएको हुन्छ। "यो दुर्घटना हेर्दा या त दुवै इन्जिन जानुपर्यो, बाहिरको एक्सटर्नल फ्याक्टर चरा ठोक्किएको हुनुपर्छ," पूर्वमहानिर्देशक गौतमले भने, "जहाज टेकअफ हुनेबित्तिकै हाइट लिन सकेन। ग्राउन्ड लेबलबाट चार सय २५ फिट हुँदाखेरी दुर्घटना भएको देखिन्छ। जहाजको दुवै इन्जिन फेल भएको हो कि जस्तो देखिन्छ।"
पूर्वमहानिर्देशक गौतमले जहाज दुर्घटनाले नेपालमा खासै असर नपरे पनि हवाईयात्रीको आत्मविश्वास घट्ने र यसको सबै क्षेत्रमा असर पर्ने बताए। विमानस्थल नजिकै रहेको बस्तीमा दुर्घटनाग्रस्त भएकाले एयर इन्डियाका कारण मानवीय क्षतिसमेत बढी भएको समाचार एजेन्सीहरूले बताएका छन्।