arrow

एयर इन्डियाको जहाज दुर्घटना: यी हुन् बिहीबार रातीसम्ममा पाइएको जानकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
air-india-crash-25-6-12.jpg

काठमाडौँ । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट बेलायतको ग्याटविक विमानस्थलतर्फ उड्दै गरेको एयर इन्डियाको उडान नम्बर १७१ (बोइङ ७८७–८ ड्रिमलाइनर) बिहीबार दिउँसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक घनाबस्तीमा खसेको छ। यस भयानक दुर्घटनामा २४१ जना यात्रु र चालक दलका सदस्यको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ, जसमा विमानमा सवार २ सय ४२ जनामध्ये एक जना मात्र जीवित फेला परेका छन्।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार, विमान स्थानीय समयअनुसार दिउँसो १:४० बजे दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाअघि विमानले 'मे डे' कल जारी गर्दै सङ्कटको सङ्केत दिएको थियो।

एएफपीले तत्काल पुष्टि गर्न नसके पनि सामाजिक सञ्जालमा पोस्ट गरिएका केही भिडियोमा विमानले उचाइ लिँदै गर्दा एक्कासी नियन्त्रण गुमाएर भवनमा ठोक्किनुअघि आगोको गोलामा परिणत भएको देखिएको छ। दुर्घटनामा विमानमा सवार १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडाली नागरिक थिए। विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए।

करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भीडभाडयुक्त आवासीय क्षेत्रमा रहेको चिकित्सक र उनीहरूका परिवारको भवनमा विमान ठोक्किएको थियो। अस्पताल र 'घोडा शिविर'को बीचमा दुर्घटना भएको स्थानमा एएफपीका एक पत्रकारले शवहरू निकाल्दै गरेको र अग्निनियन्त्रकहरूले भग्नावशेष निभाउने प्रयास गरिरहेको देखेका थिए।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार भवनका मानिसहरूले दोस्रो र तेस्रो तल्लाबाट हामफालेर ज्यान बचाउने प्रयास गरेका थिए। एक चिकित्सकका अनुसार जहाजको अगाडिको भाग क्यान्टिन भवनमा खसेको थियो जहाँ विद्यार्थीहरू खाजा खाइरहेका थिए। उनले १५ देखि २० वटा जलेको शव देखेको र आफू तथा सहकर्मीले करिब १५ जना विद्यार्थीको उद्धार गरेको बताए।

प्रहरी आयुक्तले सुरुमा कोही पनि जीवित नभएको बताए पनि गुजरात राज्यका स्वास्थ्य अधिकारीले पछि एक जनालाई जीवितै उद्धार गरिएको पुष्टि गरेका छन्। सेनाको सहयोगमा उद्धार टोलीले अहिलेसम्म २०४ जनाको शव फेला पारेको छ, जसमा विमान र दुर्घटना आसपासका क्षेत्रका मानिस पनि परेका छन्। आवासीय क्षेत्रमा दुर्घटना भएकाले हताहत हुनेको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

भारतको उड्डयन मन्त्रालयले सबै उड्डयन र आपतकालीन प्रतिक्रिया एजेन्सीहरूलाई 'छिटो र समन्वयात्मक कार्य गर्न' तैनाथ गरेको छ भने अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगित गरिएको छ।

एयरलाइन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले आपतकालीन केन्द्र सक्रिय गरिएको र जानकारी लिन चाहने परिवारका लागि सहयोगी टोली गठन गरिएको जानकारी दिएका छन्। अमेरिकी विमान निर्माता कम्पनी बोइङले घटनाबारे थप जानकारी सङ्कलनका लागि काम गरिरहेको र एयर इन्डियालाई सहयोग गर्न तयार रहेको बताएको छ।

बेलायत र अमेरिकाले आफ्ना भारतीय समकक्षीलाई सहयोग गर्न हवाई दुर्घटना अनुसन्धान टोली पठाउने बताएका छन्। बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको यो पहिलो पटक भएको घटना हो। एक इन्धन–कुशल, वाइड–बडी, हल्का विमान बोइङ ७८७ ड्रिमलाइनरले ३३० व्यक्तिहरूलाई ओसारपसार गर्न सक्छ र यो लामो दूरीका विमानहरूको लागि अमेरिकी कम्पनीको एक गौरवपूर्ण उत्पादन हो।

विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एयर इन्डियाको लगानीकर्ता टाटा समूहले प्रत्येक मृतकका परिवारलाई एक करोड भारु (एक लाख १७ हजार अमेरिकी डलर) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ