नेपाल प्रहरीको तलब, पोशाक र रासनमा अब कमी हुँदैन - गृहमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
827
Shares
काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको साधन, स्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रूपमा बढी बजेट विनियोजन गरिएको धारणा राखेका थिए।
गृहमन्त्री लेखकले यसअघिका वर्षहरूमा ८ देखि ९ महिनासम्मका लागि तलव, पोशाक र रासनको व्यवस्था हुने तथा त्यसपछि अर्थ र गृह मन्त्रालयमा जटिलता उत्पन्न हुने गरेको स्मरण गर्दै यसपटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरिएको बताए। उनले वर्षभरका लागि तलव, पोशाक र रासनको एकमुष्ट बजेट विनियोजन गरिएको दाबी गरेका थिए। साथै, अनुसन्धानमा प्रविधिको प्रयोग, कानुन तथा व्यवस्था कायम गर्न, शान्ति सुरक्षा कायम गर्न र आवश्यक सामग्रीहरूको व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा कुनै कमी हुन नदिने उनले उल्लेख गरे।
"यसपालि तुलनात्मक रूपले सुखद् कुरा के छ भने आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको छ," गृहमन्त्री लेखकले भनेका थिए, "योभन्दा पहिला जम्माजम्मी ८ देखि ९ महिनासम्मका लागि तलव, पोशाक, रासनको व्यवस्था हुने, ९ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुन्थ्यो। यसपालि तलव, पोशाक, रासन एकमुष्ट वर्षभरका लागि विनियोजन गरिएको छ। त्यसपछि थप केही स्रोत, साधनहरू जस्तो अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय होस् वा गाडीहरूका लागि, कानुन तथा व्यवस्था कायम गर्न, शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुनेछैन। तर अब त्यसअनुरूप नतिजा पनि दिनुपर्छ।"