बङ्गलादेशमा व्यावसायिक विद्युत् निर्यात शुरु, नेपालले वार्षिक सवा एक अर्बभन्दा बढी आम्दानी गर्ने
पहिलो पटक १२ घण्टाका लागि मात्र बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष भने पाँच महिना निरन्तर विद्युत् निर्यात गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
567
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (असार १) देखि भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा बङ्गलादेश निर्यात गर्न सुरु गरेको छ। गत वर्ष पहिलो पटक १२ घण्टाका लागि मात्र बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष भने पाँच महिना निरन्तर विद्युत् निर्यात गर्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताएका छन्। उनले भने, "बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो।"
गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड (भारत) बीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार, त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् निर्यात हुनेछ।
आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको यो विद्युत् आगामी नोभेम्बर १५ (करिब पाँच महिना) सम्म निरन्तर निर्यात हुनेछ। नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाका अनुसार, यो अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ। यसबाट सरकारले पाँच महिनामा रु एक अर्ब २९ करोड आम्दानी गर्नेछ। उक्त सम्झौताबमोजिम निर्यात हुने विद्युत्को बिक्रीदर प्रतियुनिट ६.४० अमेरिकी सेन्ट रहेको छ। यो विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्रपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ।
मन्त्री खड्काले विद्युत् क्षेत्र नेपालको उत्पादन निर्यात गरेर आयात घटाउन सक्ने प्रमुख क्षेत्र भएको बताएका छन्। सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ को अवधारणाअनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ। प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ।
जेठ १८ (जुन १) देखि १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले शनिवारदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको बिक्रीदर प्रतियुनिट ५.२५ भारतीय रुपैयाँ रहेको छ।
त्यस्तै, प्राधिकरणले गए राति १२ः०० बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। यसबाहेक ढल्केबर–मुजफ्रपुर ४०० केभी र १३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिदबिक्री भइरहेको छ। वर्षायाम लागेसँगै नेपालमा विद्युत्को उत्पादन बढेकाले आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको प्राधिकरणले जनाएको छ।