रहेनन् कांग्रेसका पाका नेता ढुंडिराज शास्त्री, बुधबार अन्तिम संस्कार
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
3.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका पाका नेता ढुंडिराज शास्त्रीको निधन भएको छ । उनको ९० वर्षको उमेरमा सोमबार बिहान ५ बजे काठमाडौँ मेडिकल कलेज (केएमसी) मा निधन भएको हो ।
निमोनिया र दमले ग्रस्त उनी शनिबारमात्र केएमसीमा भर्ना भएका थिए । पारिवारिक सोतका अनुसार उनका छोराहरु विदेशमा रहेका कारण बुधबार बिहानमात्र अन्तिम संस्कार हुने भएको छ ।
कांग्रेसले दिएको जानकारी अनुसार बुधबार बिहान ९ बजे पार्टी कार्यालयमा पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ भने दुई घण्टापछि त्यहाँबाटै पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।
उनका एक छोरा जापानमा छन् भने अर्का छोरा उनकी छोरीको कार्यक्रमका लागि जर्मनीमा गएका बेलामा यता शास्त्रीको निधन भएको हो ।
उनका तीन श्रीमती रहेकामा एक जनाको २० दिनअघिमात्र निधन भएको थियो । त्यस्तै २ छोरा र ३ छोरी रहेका छन् ।
अत्याधुनिक नेपालको प्रजातान्त्रिक राजनीतिका चिन्तक, समाजवादी व्याख्याता, सरलता र शालीनताका प्रतिमूर्ति शास्त्री विभिन्न चरणमा मन्त्री भएका थिए ।
उनले उद्योग तथा श्रम मन्त्रालयसमेत सम्हालेका थिए ।
कांग्रेसको राजनीतिमा जननायक बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उनले कार्य गरेका थिए ।
प्रजातन्त्र पुनःस्थापनाको संघर्षका क्रममा भारतको वनारस र गोरखपुरमा उनले लामो समय प्रवासी जीवन बिताएका थिए । शास्त्री आम निर्वाचन २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले लेखेको ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ । नेपाल सरकारद्वारा स्थापित “बीपी कोइराला राष्ट्रिय पुरस्कार २०७९” (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उनी सम्मानित भएका थिए ।
स्वर्गीय शास्त्री ‘सहीद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक अध्यक्ष थिए ।