arrow

सात जनामा औलो सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
aaulo-malaria.jpg

चितवन। चालु आर्थिक वर्षमा चितवनमा सात जना औलो (मलेरिया) रोगका बिरामी फेला परेका छन्। औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका ७ हजार ९८९ जनाको नमुना परीक्षण गर्दा ती सात जनामा सङ्क्रमण देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार, सङ्क्रमण देखिएका सबै बिरामीहरू वैदेशिक रोजगारीबाट फर्किएका छन्। गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो।

यो रोग १५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा देखिएको केसीले बताए। औलो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा सर्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने र पसिना आएर ज्वरो घट्नेजस्ता लक्षणहरू देखिने गर्दछन्।

केसीका अनुसार, अहिले औलो रोग निवारण गर्नेगरी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। नेपालमा पी भाइभाक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ, भने विदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजीवी भेटिने गरेको छ।

औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले घर, गाउँ र समुदाय सफा राख्ने, लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने र सुत्दा झुलभित्र सुत्नेजस्ता कार्यहरू गर्नु आवश्यक रहेको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ